अमेरिकी सुविधासम्पन्न जीवनशैली त्यागेका झलकराज, नेपाल फर्किएर व्यावसायिक बाख्रापालनमा

  • प्रकाशित मिति : August 25, 2020
  • sajhamail.com

काठमाडौं । धेरै युवालाई नेपालमा केही अवसर छैन भन्ने लाग्छ । त्यसैले अधिकांश युवा गाउँ बस्न चाहँदैनन्, शहर भित्रिन्छन् । शहरमा पनि अडिदैनन् विदेश भासिन्छन् । विदेशिनुका खास कारणहरु छन् । नेपाल बस्न नचाहनु वा नसक्नुका पनि खास कारणहरु छन् । खास गरी २०४६ सालमा पञ्चायती व्यवस्था फालेर बहुदल पुर्नस्थापना भयो । त्यसपछि विभिन्न कालखण्मा विभिन्न सरकारहरु गठन भए । बहुदल आइसकेपछिको सरकारले नव उदारवादी अर्थनीति र निजीकरणलाई अंगिकार गर्दा गर्दै नेपालको आफ्नो भन्ने सबै कुरा सक्दै लगिएको छ भने नयाँ स्थापना गर्न सकिएको छैन । उद्योगधन्दा कलकारखानाहरु बन्द भएका छन् । जसमध्ये बाँसवारी छाला जुत्ता कारखाना, भृकुटी कागज कारखाना, हेटांैडा कपडा उद्योग, हिमाल सिमेन्ट त्यसका केही उदाहरण मात्रै हुन् ।

नेपालमा रोजागरीको अवसर पनि छैन । र, मानिसहरुले आफ्नो क्षमता अनुसार काम पनि पाउँदैनन् । उचित व्यक्तिले उचित काम पाउँदनन् । त्यसैले पनि प्रायः मानिसहरु बाहिर जान मरिहत्ते नै गर्छन्, त्यो पनि अमेरिका । यहाँ अमेरिकामा बसोबास गरिरहेकाहरु नेपाल फर्किन चाहन्छन् भन्दा अचम्म लाग्नसक्छ । तर, एक नेपाली युवा जो सुविधा सम्पन्न अमेरिकी जीवन परित्याग गरी नेपाल फर्कने मानिसहरु त बिरलै छन् । त्यस्तैमध्येका एउटा उदाहरण बनेका छन् सुद्धोधन गाउँपालिका ६ रुपन्देहीका झलकराज अधिकारी ।

अमेरिका बसाईको ६–७ महिना नै उनलाई रमाइलोको साटो बिरक्त लाग्यो । नेपालीहरु जति सोचेर अमेरिकाको सपना देख्छन् त्यति अमेरिका सहज र सरल छैन । दुईवर्ष अघि उनले अमेरिकाको बसाई त्याग्ने विचार गरे । भन्छन् ‘नेपालमै आएर केही न केही गरौं भन्ने लागेर फर्किएको हुँ ।’ ‘अमेरिकामा गर्ने जति दःुख र मेहेनत नेपालमै गरियो भने नेपाल पनि अमेरिकाको तुलनामा पुग्न समय लाग्दैन’ उनले आफ्नो दावी प्रस्तुत गरे । उनी आफ्नै गाउँमा फर्किए र बाख्रा पालन गर्ने सोच बनाए । अहिले उनको कामना बाख्रापालन फार्ममा दैनिकी बित्छ । पहिलो चरणमा करिब दश लाख रुपैयाँबाट बाख्रापालन व्यवसाय शुरु गरेका झलकको फार्ममा अहिले लोकल कुखुरा र माछा पनि देख्न सकिन्छ ।

‘नेपालमै केही गरौं भनेर अग्र्यानिक फार्म चलाउन थालेको छु । अरुको देशमा जति पसिना बगाए पनि पैसा कमाउन मात्रै हो । विदेशमा जति स्वदेशमा पसिना बगायो भने देश त बन्छ । आउँदो पुस्ताले देशमै कृषिमा काम गर्नसमेत सिक्छन्’, उनले भने ।

देशभन्दा प्यारो विदेश होइन । नेपालमा कृषि क्रान्ति हामी जस्ता युवा पुस्ताले नगरेर कसले गर्छ ?’ भन्ने मान्यताले उनी नेपाल फर्किएका हुन् । नेपालले आर्थिक उन्नति कृषिबाट नै गर्न सक्ने उनको विश्वास छ । तर, राज्यले वातावरणचाहिँ बनाउनुपर्ने उनी बताउँछन् ।

अर्कोतिर नेपाली युवा विदेशिदा गाउँको खेतबारी बाझिँदै गएका छन् । खेती किसानी गर्ने र मर्दापर्दा चाहिने मानिस यतिखेर गाउँमा छैनन् । तर, एउटा रोचक कुरा के देखिन्छ भने नेपालमा कामले पर्याप्त कामदार पाइरहेको छैन । यो यथार्थ धेरैलाई थाहा छ । यस तथ्यलाई देखेको नदेख्यै गर्ने र म्यानपावर अफिस् तिर दौडिने युवाको लर्को देखिरहेका छौं । हरेक दिन झण्डै १५ शय भन्दा बढी युवा त्यसैगरी युवाहरु विदेशीयका छन् ।

के सबै युवा यसैगरी विदेशमा मात्र सम्भावना देखेर उतै दौडिइरहेका मात्रै छन् रु पढेर सानो तिनो काम गर्नुहुँदैन भन्ने युवाको संख्या धेरै छ । तर के सबै यही सोचमा रुमल्लिरहेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया जान मरिहत्ते गर्ने धेरै देखिन्छन् ।

अमेरिका जानु पहिला लामो समय अधिकारी नेपाल प्रहरी सेवामा आवद्ध भई देशको सेवामा थिए । सेवा निवृत्त भएपछि केही समय दैनिक उपभोग्य सामग्रीको पसल सञ्चालन गरेका झलकले काठमाडांैमा होस्टेल व्यवसायसमेत शुरु गरे । होस्टेलको जिम्मा श्रीमतीलाई छोडेर रहरै रहरमा अमेरिका तिर लागेका उनी ७ महिनाको बसाइपछि त्यहाँ बस्नै सकेनन् र नेपाल फर्किए अनि बाख्रा पालन व्यवसाय शुरु गरे । अहिले उनको फार्ममा जमुनापारी, बोयर र वित्तल तीन स्थानीय जातका ४५ बाख्राहरु छन् ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड–१९ ले होस्टेल लगायत अन्य व्यवसाय तहसनहस बनायो । तर, उनी बाख्रा फार्ममै रमाइरहेका छन् । ‘यहाँ छुट्टै आनन्द आउँछ’ उनले भने । बिहानदेखि दिनभर बाख्रा फार्ममा अनि कुखरा र माछाको हेरचाह गर्यो, आफ्नै माटोमा रमायो । उनको अनुभवमा घरपरिवार सँगसँगै बसेर पसिना बगाउँदा आउने आनन्द र अर्काको देशमा घोटिएर काम गरेकोमा आकाश जमीनको फरक पाएका छन् ।

अमेरिकामा रहँदा खासै कृषितर्फको जानकारीलाई ध्यान नदिएका उनका अनुसार अमेरिकीहरु आधुनिक प्रविधिको प्रयोगलाई बढी ध्यान दिने गर्दछन् भने राज्य सरकारले समेत ठूलो मात्रामा जमीनको व्यवस्थापनदेखि कर छुट गरिदिएको हुन्छ र कृषिमा आकर्षण हुने गर्दछ । नेपालमा यस्तो छैन । उब्जाउ क्षेत्रमा शहर विस्तार गरिन्छ । गाउँघरका जमीन बाँझै छन्, युवा जनशक्ति रोजगारीको लागि विदेश भौतारिने अवस्था छ । कृषिमा आधुनिकीकरणका लागि सरकारको सहयोग न्यून रहेको छ । अनुदानका नाममा आएका सामग्रीहरुमा पहुँचवाला र नेताका आसेपासेहरुको हालीमुहाली छ । किसानले पाउनुपर्ने सहयोग पाउने अवस्था छैन । कृषि र पशु बीमाका लागि सरकारले सहयोग गर्नसकेको छैन ।

उनी भन्छन् ‘नेपालको युवा जनशक्तिलाई प्रोत्साहन गरी प्राविधिक सहयोग र बजार व्यवस्थापनका लागि राज्यले कार्यक्रम ल्याउन सक्नुपर्दछ । यसो गर्न सकेमा कृषिप्रधान देश कृषिमा आत्मनिर्भर बन्नलाई समय लाग्दैन ।’

‘नेपाली युवा विदेशिने रहर नभएर बाध्यता हो । अर्काको देशमा ४०÷४५ डिग्रीको तापक्रममा श्रमको मूल्य विक्रि गरेर बिताउनु भन्दा आफ्नै मुलुकमा परिवारसँग हाँसीखसी मेहेनत गर्दा नै आत्मसन्तुष्टी दिन्छ,’ उनले भने । परिवारका सदस्यहरुसँग फाममा रमाइरहेका उनले आवश्यकता अनुसार अन्य व्यक्तिलाईसमेत रोजगारी दिने गरेका छन् । ‘अहिले फाम विस्तारको क्रममा भएकोले आफ्नै परिवारले सबै काम गरिरहेका छौं । आगामी दिनमा लगानी पनि बढाउँदै लैजाने र केही केहीलाई रोजगारी समेत दिने योजना रहेको छ ।’ अधिकारी भन्छन् ।

आम्दानीलाई अहिले अनुमान गरेको छैन जे जति हुन्छ यही फाममा लगानी गरिरहेको छु । यसलाई पूर्ण रुपमा व्यवस्थित गरेपछि लेखाजोखा गर्ने हो । तर, ‘आफ्नो भूमिमा काम गर्नु पसिना बगाउनु, परिवारसँग रमाउनु भनेको जीवनको सबैभन्दा आनन्द आउने रहेछ ।’ राज्यले प्राविधिक ज्ञान र युवालाई विषयगत तालिम दिइ प्रोत्साहन गर्ने हो भने देश समृद्ध हुन धेरै समय पर्खनु पर्दैन । म सबैलाई सीप सिकेर आफ्नै देशमा पसिना बगाउन प्रेरित गर्नुपर्दछ भन्छु । सरकारले युवा जनशक्तिलाई वैदेशिक रोजगारीको लागि निरुत्साहित गरी स्वदेशमै केही न केही गर्ने वातावरण तयार गरिदिनु पर्दछ । किसानलाई मलबिउमा सहुलियत, पशुपालकलाई घाँस, दाना र रोग उपचारका लागि प्राविधिक ज्ञान तथा बीमाको व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।