कृषिमा लगानी बढाउँदै नेपाल बहुउद्देश्यीय सहकारी संस्था

  • प्रकाशित मिति : August 25, 2020
  • sajhamail.com

किरण ढकाल । 

काठमाडौ । कृषि उत्पादनका हिसावले महत्वपूर्ण मानिएको झापामा यहाँका सहकारी संस्थाले पनि यस क्षेत्रमा लगानी बढाउँदै लगेका छन् । झापाका नेपाल बहुउद्देश्य, सहारा, मेची कृषक, पूर्वी नेपाल लगायतका ठूला सहकारी संस्थाले बचत तथा ऋणको कारोवारसँगै कृषिमा अरबाँै लगानी गरेका हुन् ।

नेपाल बहुउद्देश्य सहकारी संस्थाले कृषकलाई अनुदानका साथै मल, बीउ, घाँसको बीउ वितरण, कृषि विमा लागू गरिरहेको तथा दुग्धजन्य वस्तुको उत्पादन र बिक्रि गरिरहेको छ । कृषकलाई सस्तो ब्याजमा ऋण लगानी गरी कृषि क्षेत्रमा लाग्न प्रेरित गरिरहेको अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।

यस्तै सहारा नेपालले लघुवित्त कार्यक्रम मार्फत विपन्न परिवारलाई बाख्रा, सुँगुर, गाई उपलब्ध गराउने गरिरहेको छ । यस्तै मेची कृषकले पनि यहाँ सामुदायिक पोष्ट हार्बेष्ट सेवा केन्द्र स्थापना गरि धान, मकै, गहुँ लगायतको बीउ उत्पादन गर्ने र सदस्यहरुलाई वितरण गर्ने काम गरिरहेको छ । यो संस्थाले इलाम, झापा, सुनसरी, सप्तरीसम्म आफ्नो उत्पादनको बीउ पठाउने गरेको छ ।

संस्थाले १२ विगाहा क्षेत्रमा उन्नत जातको बीउ बिजन उत्पादन गर्ने गरेको जनाएको छ । पूर्वी नेपाल, पहिलो पाइला लगायतका संस्थाले आधुनिक मेशिनबाट खेती शुरुवात गरेका छन् । धान काट्ने झार्ने तथा ब्यवसायिक तरकारी खेतीको काम भइरहेको अध्यक्ष सनिप भुजेलले बताए । यो संस्थाले विदेशबाट फर्किएर आएका युवाहरुलाई समावेश गरेर ब्यवसायिक खेती गरिरहेको छ ।

उता नेपाल बहुउद्देश्य सहकारी संस्थाले आफ्ना सदस्यहरुको आर्थिक सवलिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थाले डेरी उद्योग, एकिकृत नमूना कृषि फार्म स्थापनाका लागि समेत लगानी गरेको छ । यसैगरि सहकारी पसल तथा चिया उत्पादनमा पनि जोड दिएर कार्य गरिरहेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जनकारी दिएका छन् ।

संस्थाले बैंकिङ कारोबारमा समेत लगानी गरेको जनाएको छ । ८५ हजार एकसय ३६ सदस्य संख्या रहेका उक्त सहकारीको कुल पूँजी नौ अर्ब ६० करोड रहेको छ भने बचत सात अर्ब ७० करोड रहेको, साथै लगानी सात अर्ब ८० करोड रहेको छ । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले पारेको असरमा संस्थाले १७ लाख रकम बराबरको राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।

सहकारीले आफ्ना सदस्यहरुलाई आवश्यकता हेरी कोराना राहत स्वरुप प्रति सदस्यलाई पाँच हजारका दरले सापटी दिएको छ । उसले महामारीले विश्वलाई पारिरहेको असरका समयमा कारोवार तथा ब्यापार ब्यवसाय गर्न सम्भव नभएको भन्दै लकडाउन भरी ऋणको ब्याज नलिने घोषणा समेत गरेको छ ।